www.mynpl.blogspot.com ---- विक्रम थापा

अर्का रामकृष्ण ढकाल फेला परे!

अर्का रामकृष्ण ढकाल फेला परे!
बाल रामकृष्ण ढकालको झझल्को दिने नयाँ गायक फेला परेका छन् । यो हामीले भनेका होइनौँ । यी नयाँ प्रतिभाको स्वर सुनेर केही संगीतकर्मीले भनेका हुन् ।

१२ वर्षको उमेरमा नै भव्यतम कन्सर्ट दिने रामकृष्ण ढकालको प्रतिभालाइ पछ्याउँदै काठमाडौँको लिटिल एञ्जेल्सको कक्षा ८ मा अध्ययरत मनीष चौधरीले पनि एकल कन्सर्ट गर्ने भएका छन् । उनको प्रतिभा सुन्ने, बुझ्ने जो कोहीले पनि उनलाइ नयाँ रामकृष्ण ढकालको संज्ञा दिन थालेका छन् ।

लहान स्थायी घर भएका यी बालक हेर्दाका मात्र बालक हुन्, सांगीतिक ज्ञान चाहिँ कुनै पाका संगीतकर्मीभन्दा कम छैन । राजधानीमा शनिबार उनकै सांगीतिक सुझबुझसम्बन्धी कार्यक्रम नेपाल सङ्गीत रिर्सच सेन्टरले आयोजन गर्ने भएको छ ।

उनका पिताले इण्डियन आइडोलको एउटा भीसीडी किनेर घर लाहान पुग्दा दुरुस्तै स्वरमा मनीषले गाउन थालेको पाएपछि आफ्नो छोराको प्रतिभा चाल पाएका थिए । त्यसपछि घरकै कान्छा छोरालाई गाउन हौस्याउन थालेपछि अहिले उनी छुरा भएर निस्किएका हुन् ।

तर छोरालाई प्रमोट गर्न प्रशस्त रकम नभएका कारण अबको बाटो के हुने हो भन्ने अन्यौल पनि उत्तिकै छाएको छ । सुरेश अधिकारीजस्ता चर्चित संगीतकारले मनीषलाई अरु कुनै बाटोमा नलाग्न सुझाव र सल्लाह दिएका छन् ।

संगीतकार अधिकारीले यो उमेरमै संगीतमा लागेको खण्डमा भविष्य उज्ज्वल हुने र बाटो देखाउने व्यक्तिहरु भएको खण्डमा निकै माथि जान सक्ने भनी हौस्याएकोमा मनीष दंग छन् । उनी आफू शनिबार राजधानीको सभागृहमा हुने आफ्नो गायन कला कस्तो हुने हो भन्ने चासोमा त छँदैछन्, साथमा यसलाई स्मरणीय बनाउन पनि लागिपरेका छन् ।

तर आफ्नो यो प्रस्तुति धाँसु हुनेमा पूर्ण विश्वस्त छन् । किनभने यसअघि पनि पोखरामा उनले गरेको एक कार्यक्रम भव्यतम् सफल भएको थियो ।

उनको यो कार्यक्रम पूर्ण रुपमा सफल होस्, शुभकामना छ ।